Sunday, June 28News That Matters

टेलिकमले शुल्क मिनाहा गर्ने

पूर्णपुष्टि, असार ३ गते । 

कोरोनाको महामारीले गर्दा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म विलम्ब शुल्क नलाग्ने भएको छ ।

लकडाउनमा कम्पनीका सेवा प्रयोग गरेबापत् तिर्नुपर्ने महसुल बुझाउन नसक्ने ग्राहकलाई विलम्ब शुल्क नलाग्ने टेलिकमले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

असार ८ गतेदेखि भने महसुलमा नियमानुसार विलम्ब शुल्क लाग्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ ।

टेलिकमले भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै छ ।

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ साल वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७ सय ६० ठाउँमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो ।

सरकारले त्यहाँ कोभिड–१९सँग सम्बन्धित क्वरेन्टीन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ साल चैत २३ गतेदेखि दुई महिना समयावधि राखेर सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी फेरि दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १ सय ९८ मा डायल गरी बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ ।