Friday, April 17News That Matters

ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप

पूर्णपुष्टि, पुष १२
ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकहरुको उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) देखिएको छ । सप्ताह कार्यक्रम अन्तर्गत आइतबार ५० जना चालकहरुको स्वस्थ्य परिक्षण गरिएको मध्ये २६ जनामा उच्च रक्तचाप देखिएको थियो । यो परिक्षण संख्याको ५१ प्रतिशत रहेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि सञ्चालन हुने साना तथा ठूला सवारी साधनका चालक र सहचालकसमेतको स्वस्थ्य परिक्षणको क्रममा अधिकांश चालकहरुमा उच्च रक्तचाप देखिएको हो ।
विभिन्न ठाउँको गन्तब्यमा हिडेका चालकहरुमा तनावका कारण उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक इन्चार्ज लिलाकुमार श्रेष्ठले बताउनुभयो । परिक्षणमा उच्च रक्तचाप देखिएका चालक तथा सहचालकहरुलाई तनावमा नहिड्न, समयमा खान, आराम गर्न सुझाव दिइएको थियो । रक्तचाँप ठीक बनाउने खानपिनमा ध्यान दिनुका साथै आवश्यकता अनुसार औषधिसेवन गर्नसमेत सुझाइएको छ ।
उदयपुर अस्पतालका मेडिकल अधिकृत डा. जीवनारायण मण्डलका अनुसार रक्तचाँप बेलाबेलामा परिक्षण गर्नुपर्दछ । उच्च रक्तचापले सुगर, पक्षघात जस्ता रोगहरु निम्त्याउन सक्छ । जसले आँखा कमजोर हुने, प्यारालाइसिस हुने जस्ता समस्या आउनसक्छ । यसले चालकमा दुर्घटनाको उच्च जोखिम हुन्छ । डा. मण्डलका अनुसार दैनिक सात÷आठ घण्टासम्म आरामको जरुरी हुन्छ । बेलैमा परिक्षण गरेर खानपान, आराम तथा औषधि उपचारबाट उच्च रक्तचाप ठीक पार्न सकिने भएकोले बेलबेलामा परिक्षण गर्न/गराउन उहाँको सुझाव छ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, इलाका प्रहरी कार्यालय जलजलेसमेतको संयुक्त आयोजनामा चालकहरुको स्वस्थ्य परिक्षणसंगै सवारी साधनहरुको अवस्था तथा प्रदुर्षण चेकजाँचसमेत गरिएको थियो । चेकजाँचको क्रममा कागजपत्र, नम्बर प्लेट, प्रदुर्षण जाँच जस्ता कुराहरु पनि फेल भएको पाइएपछि नियमको पालना तत्काल गर्न निर्देशन गरिएको थियो ।
पुष ४ गतेदेखि सुरु सप्ताह कार्यक्रम अन्तर्गत फुटपाथ पसल तथा सामान ब्यवस्थापन, ट्राफिक चिन्ह प्रचार, सवारी साधनका आरक्षण सिट, यात्रु क्षमता परिणाम, सिट क्षमता आदिको चेकजाँच गरिएको थियो । त्यसैगरी विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन, विद्यार्थीसहित फिल्ड ट्राफिक सचेतना लगायतको कार्यक्रमसमेत गरिएको ट्राफिक प्रहरी भुवन राईले बताउनुभयो ।

ट्राफिक सप्ताह कार्यक्रमले सर्बसाधारण नागरिकलाई दुर्घटनाबारे सचेतना फैलाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आज आयोजित सप्ताह कार्यक्रमको समापनमा सातदिनको कार्यक्रम भएपनि नागरिकमा जीवनभरलाई चेतना जगाउने काम भएको बताउनुभयो । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले यातायात सेवाको क्षेत्रमा सबैभन्दा पहिले सवारी चालक आफै सचेत हुनुपर्ने बताउनुभयो । चालक सचेत भए दुर्घटनाको अवस्था न्यून हुने उहाँले बताउनुभयो । त्रियुगा नगरपालिका वडा नं. १३ की वडाध्यक्ष पशुपती चौधरीले चालकले पहिलो सर्त मादक पदार्थ सेवन गर्न नहुने बताउनुभयो । “चालक एकजनाको हातमा सयौं यात्रुको जीवन अडेको हुन्छ” वडाध्यक्ष चौधरीले भन्नुभयो “त्यसैले उत्तिकै जिम्मेवार भएर सवारी चलाउनुपर्छ ।” हरेकवर्ष ट्राफिक सप्ताह मनाउने गरिएको भएपनि यसवर्ष नागरिकको सहभागिता उल्लेख्य रहेको थियो ।