
पूर्णपुष्टि, साउन १८
पत्रकार भूमिराज पराजुलीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको छ । वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्रचार गरेको हो ।
दमक निवासी पत्रकार पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेसंगै विभागले पराजुलीलाई पक्राउ गर्न पत्रचार गरेको हो ।
दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पत्रकार पराजुलीबिरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पूर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले आग्रह गरको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बशन्त पाठकले बताए ।
वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराई दिन भनिएको छ ।
पत्रकार पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताएका छन् । पराजुलीले बिर्तामोड–४ स्थित दीपक अधिकारीबाट तीन लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट एक लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट एक लाख ५० हजार, वेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट एक लाख ३० हजार, देउमाई–७ इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट एक लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।
पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै शुरुमा आफूबाट एक लाख रुपैयाँ लिएको र पछि थप दुई लाख रुपैयाँ लिएको बिर्तामोड–४का अधिकारीले बताएका छन् । रोमानियामा किचन हेल्परका लागि पठाउने भन्दै उनले शुरुमा पेश्की स्वरुप एक लाख रुपैयाँ लिएको र पछि वर्क पर्मिट आएको भन्दै थप दुई लाख गरी मसँग तीन लाख रुपैयाँ लिएका हुन्– अधिकारीले भने ।
