Thursday, April 30News That Matters

ठेक्का लागेको ढुंगामा स्थानीयको विरोध

राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक २९ गते । 

मापदण्डविपरीत खोलाको ढुंगा उत्खनन् गरिएको भन्दै बेलका नगरपालिका–४ को लालबजारका स्थानीयवासी विरोध गरेका छन् । स्थानीयले लोड भएका २० वटा टिपरलाई विहिबार देखि रोकेर विरोध गरेका हुन् ।

नगरका ४ र ६ नम्बर वडाको सिमानामा रहेको सिसुवा खोलाबाट तोकिएको मापदण्ड भन्दा बढी उत्खनन् गरी रातारात ढुंगा ढुवानी भएको भन्दै आफुहरुले त्यस विरुद्ध आवाज उठाएको   स्थानीय महिला समाजसेवी माया ओलीले बताईन्।

बजारको उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट भू–क्षय हुने गरी दुवै वडाको वस्तिहरुलाई नै जोखिममा पारेर ढुंगा उत्खनन गर्न दिएको स्थानीयहरुले आरोप लगाएको छ । वार्ताको लागि वातावरण मिलाउन प्रयास भए पनि नगर प्रमुख दुर्गा थापा नै बार्तामा बस्नु पर्ने विरोधकर्ताको अडानका कारण सहमति हुन नसकेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामचन्द्र साहले बताए ।

स्थानीय प्रेम अधिकारीले भने, “यो ठेक्का लगाउने प्रकृया नै गलत भएको छ, गैर कानुनीरुपले डेण्डर लगाईएकोले यसलाई बदर गरेर अर्को डेण्डर आह्वान गर्नु पर्ने बताए । खोलाको छेउमा जग्गा हुने र जस्को जग्गै नहुनेको पनि यहाँ दुई थरीको कुरा भएकोले सहमति नभएको हो तर यसको निकास चाडै हुने बेलाका नगरपालिका–४ का वडाध्यक्ष दिपक दंगालले बताए ।  विरोधकर्ताहरूले डिभिजन वन कार्यालयका प्रतिनिधि आएर नबुझेसम्म ती टिपर नछाड्ने अडान लिएका छन् ।

यसरी रातारात ढुंगा ओसारेको ओसारेकै गरेपछि प्राकृतिक विपत्तिको खतरा हुन्छ कि हुँदैन ? स्थानीय माया ओली कोइरालाले भनिन् । भोलि यसको परिणाम भोग्ने हामी पो हौं त उनले भने । स्थानीयका अनुसार गिद्धेरी खोला, सिसुवा खोला, मुर्ति खोला, जसुदा खोला, बगुन्दा खोला, कासेपा खोला, सेती खोला, धाराखोला र खडारीखोला ३ करोड ५७ लाखमा भदौ २३ गते विबि कन्ट्रक्सनले ठेक्का पारेको थियो ।

‘१९ कात्तिकमा डिभिजन वनले उक्त क्षेत्रमा ढुंगा उत्खनन गर्नु जोखिमपूर्ण भन्दै बेलका नगरपालिकालाई पत्र समेत काटेको  बुझिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पुष्कर भट्टराईले ठेकेदारबाट कमीकमजोरी भएको स्वीकार गरेका छन्  । उनले भने ‘ठेक्का सम्झौतालाई उल्लंघन गरेर उनीहरूबाट केही कमजोरी भएको छ ।’ अबका दिनमा कमजोरी सच्याएर काम गर्नु पर्ने अधिकृत भट्टराईले बताए ।