
पूर्णपुष्टि, जेठ १३ गते ।
औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना संक्रमण भएका बिरामीमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओले रोक लगाएको छ ।
कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा संगठनले सुरक्षाको कारण देखाउँदै अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो ।
एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना संक्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यस्तो निर्णय गरेको जनाईएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आएको छ ।
अहिलेसम्म विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ४७ हजार भन्दा बढीको मृत्यु भएको छ ।
