Tuesday, June 9News That Matters

डिउटीमा खटिएको शसस्त्र प्रहरीको सईमाथि खुकुरी प्रहार

पूर्णपुष्टि, बैशाख २३ । कञ्चनपुरको दोधारा चाँदनीमा डिउटीमा खटिएको एक शसस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि खुकरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चन भोजमा रहेको सशस्त्र प्रहरी बल बिओपीका (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए । उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलका अनुसार जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा चैसिरमाथि खुकुरी प्रहार भएको हो । सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको पहिचान भईसकेको र खोजी कार्य भइरहेको उनले बताए।