Monday, April 20News That Matters

डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लामा संक्रमण

भदौ २४ गते । 

डेँगुको संक्रमणबाट मुलुकमा छ जनाको मृत्यु भएको छ भने ५६ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पूर्वको धरानबाट फैलिएको डेँगु नियन्त्रण गर्न नसक्दा अहिलेसम्म छ जनाको मृत्यु भईसकेको छ भने तिब्र रुपमा ५६ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयको तथ्याङकले देखाएको हो ।

वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिलेसम्म प्रदेश नं. १ को ९, प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेँगुबाट मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेको तथ्याङ्कले देखाएको छ ।  साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।

थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ ।  साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ ।

प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको तथ्याङकले देखाएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि  डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।

डेङ्गु नियन्त्रणमा प्रचार प्रसारको ठूलो भूमिका हुने भएपनि सरकारले दुई सरकारी संचार माध्यमको मात्रै प्रयोग गरीरहेको छ । तिब्र रुपले फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनमात्रै प्रयोग गर्दै आएको हो ।