
पूर्णपुष्टि,चैत्र १९ । उदयपुरको ताप्ली गाउँपालिकामा सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाको काम धमाधम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा आयोजना निर्माण सुरु गरेको हो ।
यस आयोजनाले ताप्ली,रौतामाई र लिम्चुङ्बुङ गाउँपालिका समेतलाई समेट्ने छ । ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार आयोजना कार्यालय विराटनगरले निर्माण गर्न लागेको आयोजनाको स्किम २ अन्तर्गत ताप्लीका विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निमार्ण गरिने छ । पाईपका लागी नाला खन्ने,गार्ड हाउस निमार्ण गर्ने र पाईपहरु ल्याउने काम भईरहेको छ ।
आयोजनाबाट तिन ओटै गाउँपालिकाका ६ हजार हजार भन्दा बढी घरधुरीले पानि पाउने छन् । उक्त आयोजना १ अर्ब ५८ करोड ९६ लाखमा आगामी २०८२ सालसम्म आयोजनाको काम सक्ने सम्झौता रहेको छ । आयोजना कार्यालय विराटनगरका फिल्ड इन्जिनियर सुजित महतोका अनुसार लिफ्टिङ आयोजनाको स्किम १ बाट लिम्चुङबुङको १ देखी ५ सम्म र रौतमाईको १ देखी ३ सम्मका ३२२७ घर धुरीले र स्किम २ बाट ताप्लीको १ देखी ५ सम्मका ३ हजार भन्दा बढी घरधुरीले खानेपानी उपभोग गर्न पाउने छ ।
ताप्लीका उपभोक्ताले ६ हजार ३२७ वटा धारा मार्फत स्वच्छ खानेपानी पाउँने भएका हुन् । तीनवटै पालिकाका ६ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालाई लक्षित गरी आयोजना तयार पारिएको हो । बृहत् लिफ्टिङ सुनकोसी खानेपानी आयोजना अन्तर्गत एक प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्नेछ ।
सुनकोशी नदीको पानी तानेर उपभोक्तालाई वितरण गरिने आयोजना प्रमुख चोकप्रसाद धितालले बताउनुभयो । स्किम १ को आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७।५ लिटर र स्किम २ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६.५ लिटर पानी तानेर रिजर्व ट्याङ्कीमा जम्मा गरिने ‘उनले भने’ ट्याङ्कीबाट उपभोक्तालाई पाइप मार्फत घरघरमा वितरण गरिनेछ ।
