
पूर्णपुष्टि, फागुन १४
काठमाण्डौको तारकेश्वरमा फेरी बर्ड फ्लू देखिएको छ ।
बर्ड फ्लू देखा परेपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।
फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको जनाईएको छ । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको जनाईएको छ ।
फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको छ । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको सय वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको जनाईएको छ ।
तारकेश्वर नगरपालिका–१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन–कुन ठाउँमा सङ्क्रमण छ भनेर अध्यन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।
बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने वडाले जनाएको छ ।
