
पूर्णपुष्टि, चैत्र २० । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार काठमाडौंको जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर कोटेश्वर हुँदै डेरा फर्कने क्रममा प्रहरीको गोलीबाट घाइते भइन् । राजावादी समूहको प्रदर्शनका कारण कोटेश्वरमा सिर्जना भएको हिंसात्मक परिस्थितिमा उनलाई आफ्नो शंकरमार्गको डेरामा बस्ने (ठूलोबुबाका छोरा) दाजु दिनेश खत्रीले लिन गएका थिए ।
दिनेश र रेविका कोठा छिर्नै लाग्दा उनीहरूलाई एकाएक गोली लाग्यो । प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी लखेट्ने क्रममा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । यद्यपि, उनीहरू रहेको स्थानमा त्यति बेला कुनै प्रदर्शन भइरहेको थिएन । गोली रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो जसका कारण उनी गम्भीर घाइते भइन् । दिनेशको भने खुट्टामा गोली छोएको थियो । करिब दुई घण्टा पछि एम्बुलेन्सले घाइते दुवै जनालाई निजामती कर्मचारी अस्पताल लगियो ।
कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेविकालाई अहिलेसम्म ३५ युनिट रगत चढाइसकिएको छ । उनलाई सुरुमा भेन्टिलेटरमा राखिएको थियो, अहिले आईसीयूमा उपचार चलिरहेको छ । चिकित्सकका अनुसार उनको तिघ्रा क्षतविक्षत भएको र नसाहरू पनि छेडिएको अवस्थामा छ । दिनेश भने डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् । उपचारमा अहिलेसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले घाइतेको सम्पूर्ण उपचार निःशुल्क गर्ने आश्वासन दिएका छन् ।
घटनापछि रेविकाको न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । ‘गोली हान्ने दोषीलाई कारबाही गर, विद्यार्थीलाई गोली हान्न पाँदैन’ जस्ता नारा लगाउँदै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । स्थानीय साक्षीका अनुसार प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लागेको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार, शुक्रबारको प्रदर्शनमा प्रहरीले ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याङ्क राउन्ड, ५८ राउन्ड हवाई फायर, २३९ छर्रा र २ राउन्ड पेस्तोल गोली चलाएको थियो ।
