Tuesday, June 9News That Matters

तीन जना किशोरीको भारत लैजाने क्रममा उद्धार

पूर्णपुष्टि, पुष २३

तीन किशोरीलाई भारत तर्फ लैजाने क्रममा उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती किशोरीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा उक्त टोलीले सोधपुछ गरेको थियो । ती किशोरीहरुलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु ९ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको छ ।  उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ ।