
सुनिल राई/गाईघाट, पूर्णपुष्टि, असोज २५ ।
त्रियुगा नगरपालिका-४ बगाहामा तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
शनिबार बगाहा खेल मैदानमा भएको उद्घाटन खेलमा (आरवाइसि) सिराहालाई ० गोलको विरुद्ध ९ गोल गर्दै इलाभेन स्टार फुटबल क्लब बोक्सेले उत्कृष्ट विजयी सुरुवात गरेको हो ।
पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ८ गोल थपेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १२ का शिशिर लेखीले ह्याट्रिक गरे । उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै बोक्सेलाई अग्रता दिलाएका थिए भने ५५औ र ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
त्यस्तै बोक्सेका लागि जर्सी नम्बर ७ का विशाल चौधरीले २ गोल गरे भने, जर्सी नम्बर ५ का योगेश बिष्ट, जर्सी नम्बर ४ का आशिष भुजेल, जर्सी नम्बर ३० का सोईसन राई र विवेक चौधरीले १-१ गोल गरे ।
यस खेलको म्यान अफ दि म्याच बोक्सेका जर्सी नम्बर १२ का शिशिर लेखी बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
भोलि हुने दोस्रो खेल आदर्श युवा क्लब नेपाल र दमौटी फुटबल क्लब बीच हुनेछ । यस प्रतियोगिता विजेता टोलीले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
