
पूर्णपुष्टि, बैशाख ३१
त्रियुगा नगरपालिकाको माथिल्लो पहाडी भागमा पनि कोरोना संक्रमण तिव्र देखिएको छ । वडा नं १६ मा हिजो र आज गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।
वडाको बेल्दोभान, जाँते, सरस्वती र तिनतले क्षेत्रमा संक्रमण देखिएको हो । वडा अध्यक्ष मानवहादुर राईका अनुसार त्यस क्षेत्रमा ठुलो संख्यामा ज्वरो आएको खवर पछि हिजो ५ जनाको नमुना परिक्षण गरिएको थियो । नगरपालिकामा बोलाई परिक्षण गरिदा ५ जनामै संक्रमण पुष्टि भएको थियो ।
लगत्तै वडाले आज स्वास्थ्यकर्मीको टोली आधारभूत विद्यालय बेल्दोवानमा लगी २३ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा अन्य बिरामीहरु पनि रहेको वडाको अन्य ठाउँहरुबाट पनि ज्वरोको खबर आईरहेकाले वडामा समुदायु भित्र कोरोना संक्रमाण फैलिएको वडाअध्यक्ष राईले बताउनुभयो ।
वडाको संक्रमित क्षेत्र खासगरी बेल्दोभान र आसपासको ठाउँलाई कोरोना संकट क्षेत्र घोषणा गर्न र शिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति संग माग गर्ने अध्यक्ष राईले बताउनुभयो । तत्काल त्यस क्षेत्रलाई सिल नगरे ठुलो संकट पैदा हुने देखिएको छ ।
अधिकांश ज्याला मजदुरी किसान गरिब नागरिकको बसोवास रहेको छ । हाल संक्रमण देखिएकाहरु पनि अधिकांश गरिब सर्वसाधरणहरु हुन् । हाल संक्रमितहरु सबैलाई होम आईसोलेसनमै सुरक्षित ढंगले राखिएको उहाँले बताउनुभयो ।
त्यस क्षेत्रमा कोरोना फैलिनुका कारण सदरमुकाम गाईघाट नजिक रहेको र गाईघाट बोक्सेका मानिसहरु दिनदिनै जाने आउने खाने बस्ने गरेका छन् । साथै उदयपुरको उत्तरी क्षेत्र र रौतामाई गाउँपालिका, खोटाङ, त्रिनपाकै १४ र १५ वडा जाने आउने मुख्य नाका बेल्दोभान हो । यसै कारणले पनि संक्रमण फैलिएको वडाको ठहर छ ।
साथै बेल्दोभान नजिकै १५ नं वडामा पर्ने लाटाङ खोला ठाउँबाट ढुङगा उत्खननको कार्य भईरहेको छ । त्यसका ढुंगा ढुवानी ट्याक्टरहरुका चालक सहचालकहरु तथा मजदुरहरुको ठुलो भिँड हुने बस्ने खाने आउने जानेका कारण पनि संक्रमण फैलिएको वडाको ठहर छ । तत्काल ढुंगा उत्खनन रोक लाउनु पर्ने पनि अध्यक्ष राईले बताउनुभयो ।
एन्टिजेन किट मार्फत कोरोना परिक्षण भएको हो । परिक्षणमा एक शिक्षक, उनको परिवार र टोल विकास संस्थाका अध्यक्ष समेतमा संक्रमण देखिएकोले संक्रमणको अवस्था उच्च हुने वडाको आकलन छ । यो स्थितिलाई गम्भिरताका साथ लिदै वडाले समधानका निम्ति सम्बन्धित निकायहरु सँग समन्वय गर्दै बिषेश पहल थालेको जनाएको छ ।


