
पूर्णपुष्टि, माघ ५
त्रियुगा नगरपालिका १२ ले आफ्नो वडामा रहेका बालबालिका र जेष्ठ नागरिकहरुलाई जाडोको कपडा वितरण गरेको छ । जाडोको समयमा बालवालिका र जेष्ठ नागरिकहरुलाई बिषेश ध्यान दिनु पर्ने भन्दै त्रियुगा नगरपालिका वडा नं १२ ले बुधबार न्यानो कपडा वितरण गरेको हो ।
वडाध्यक्ष जयविक्रम राईका अनुसार वडा भित्रका सोनापुर र विसनपुरका विपन्न दलित, मुसहर बस्तिका १ सय ५० जना बालबालिकालाई घर घरमै पुगेर न्यानो कपडा वितरण गरिएको हो । विपन्न दलित, अनाथ, असाह्य बालबालिका लक्षित कार्यक्रमबाट १ लाख रुपैँयाको लागतमा जाडोमा लगाउने कपडा खरिदगरि वितरण गरिएको उनले बताए ।
पछिल्लो समय अत्यादिक जाडो बढेको भन्दै यस बाट बालवालिका तथा जेष्ठ नागरिकहरुलाई बचाउन न्यानो कपडा वितरण गरिएको अध्यक्ष राईले बताए । त्यसैगरी चिसोबाट वचाउन जेष्ठनागरिक लक्षित कार्यक्रमबाट १ लाख रुपैँयाको न्यानो कपडा वलान्केट खरिद गरी वितरण गरिएको वडासचिब निरु कार्कीले बताईन् । वडाभित्रका करिव ३ सय जेष्ठ नागरिक मध्ये आर्थिक अवश्था कमजोर भएका २ सय जनालाई वलान्केट वितरण गरिएको उनले बताईन् ।
जाडो बढेसँगै जेष्ठ नागरिक र बालबालिका धमाधम विरामी हुन थालेपछि जोगाउन न्यानो कपडा वितरण गरिएको सचिब कार्कीको भनाई छ । उनले भनिन, ‘चिसोकाकारण बालबालिका र जेष्ठनागरिक रुघाखोकी, ज्वरो आएर घर भित्र बस्न बाध्य भएको टोल विकास संस्थाहरुबाट जानकारी आएपछि जनप्रतिनिधिहरुको अनुगमन पछि न्यानो कपडा वितरण गरेका हौ ।
सदरमुकाम आसपासका क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेपछि सर्वसाधरण घर वाहिर निस्कन सकेका छैनन् । न्यानो कपडाको अभावमा घर भित्रै आगो तापेर बस्न बाध्य भएका छन् । स्थानीय सरकारले जेष्ठनागरिक र बालबालिकालाई लक्षित गरी कार्यक्रमहरु अघि सार्न निर्देशन दिएसँगै वडाहरुमा धमाधम न्यानो कपडा वितरण सुरु गरेका हुन् ।
