Wednesday, June 17News That Matters

त्रिनपा १६ द्धारा वडावासीलाई जस्तापाता वितरण

पूर्णपुष्टि, २० जेष्ठ ।

त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई जस्तापाता वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी सुरक्षित नागरिक आवास तथा फुसको छाना विस्थापित कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाए । अध्यक्ष राईका अनुसार सुरक्षित आवास अन्तर्गत ५ घर र विपद व्यवस्थापन अन्तर्गत २ सहित जम्मा ७ घरलाई जस्तापाता वितरण गरिएको हो ।

सुरक्षित नागरिक आवास तथा फुसको छाना विस्थापित कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को नगरसभाबाट स्वीकृत त्रिनपा १६ को वडागत बजेटबाट जस्तापाता वितरण गरिएको हो ।

राईका अनुसार जस्तापाता किन्ने १५ लाख बिनियोजित बजेटको टेन्डरबाट बचेको दुईलाख ४७ हजार बजेटको पनि जस्तापाता खरिद गरी फुसको छाना भएका घर परिवारलाई वडाले जस्तापात वितरण गरेको जनाए ।

वडा कार्यालयका सचिव महेश खनालका अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत गोपाल विश्वकर्मा, धनमाया श्रेष्ठ, दलसरी राई, तिलमाया विक, र तेज बहादुर बोहोरालाई प्रत्यक घरधुरीलाई चार÷चार बण्डलको दरले जस्तापाता वितरण गरिएको हो ।

यता बिपद राहत अन्तर्गत सिद्रेका विना कुमारी श्रेष्ठलाई चार बण्डल र कुसुमटारका मान वहादुर विश्वकर्मालाई दुई बण्डल जस्ता वितरण गरिएको सचिव खनालले जनाए । खनालले यस कार्यक्रम पश्चात लगत्तै केहिदिनभित्र २२ घर परिवारलाई पनि जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको जनाए ।

वडा सदस्य समेत रहेकी जिल्ला समन्वय समितिका सदस्य गोमा कार्कीले वडामा अझै पनि चार सय घरको हाराहारीमा फुसको छाना भएका घर परिवार रहेको जनाए । त्यसलाई वडाले पूर्ण रुपमा सुन्य बनाउनु पर्ने भन्दै यसै बर्ष जस्तापाता सहित सय घरको हाराहारीमा घर निर्माण गर्ने वडाको लक्ष्य रहेको उनले जनाईन् ।
यता जनताअवास कार्यक्रम अन्तर्गत दलित घर निर्माण कार्यक्रम पनि वडाले आयोजना गर्ने भएको छ । जस्तापाता पाएपछि फुसको छाना रहित घर बन्ने भन्दै वडावासीहरुले खुसी ब्यक्त गरे ।