
पूर्णपुष्टि, असार १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ शाही खोलामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण सम्पन्न भएको छ । साहिखोलाका ८४ जनालाइ निस्सा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, वडाध्यक्ष मानबहादुर राई लगायतले निस्सा प्रमाण पत्र प्रदान गरेका थिए । निस्सा प्रमाणपत्र पाएपछि स्थानीय खुसी बनेका थिए ।
नगरपालिकाले विभिन्न वडामा नापीको निस्सा वितरण गर्दै आएको छ । निस्सा वितरणलाई निरन्तरता दिने र जग्गा नापीको काम बाँकी रहेका ठाउँमा पनि नापी गरेर निस्सा वितरण गरिने मेयर बस्नेतले बताए । उनले यो वर्षभित्रमा सबै नाप्ने र निस्सा वितरणको काम सकेर आगामी वर्ष २०८२ मा लालपूर्जा वितरणको लक्ष लिएको बताए । वडाध्यक्ष राईले जग्गा नापीको जनताको मागलाई प्राथमिकतामा राखेर काम गरिएकोले आज निस्सा वितरण गर्न सफल भएको बताए । सो वडाको अन्य टोलबस्तीमा पनि पुगेर निस्सा वितरण गरिने उनले बताए ।


