
पूर्णपुष्टि, साउन ३०
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ को गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् ।
पहिरोमा परेर स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएको प्रहरीले जनाएको छ ।
खानीबाट ढुङ्गा निकाल्ने स्काभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेको थियो । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएको थियो ।
पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको जनाकारी पाउना साथ प्रहरी घटनास्थल पुगिसकेको छ ।
