
पूर्णपुष्टि, पौष २६
त्रियुगा नगरपालिकाले १६ वटै वडा बाट राष्ट्रिय परिचय–पत्रका लागि व्यक्तिगत विवरण दर्ता प्रक्रिया शुरु गरेको छ । प्रत्येक नेपाली नागरिकको नागरिकताको प्रमाण–पत्रका साथै राष्ट्रिय परिचय–पत्र नम्बरलाई अनिवार्य रुपमा लागु गर्न लागेकोले नगरपालिकाले सबै वडा बाट व्यक्तिगत विवरण दर्ता शुरु गरेको हो ।
त्रिनपा ११ का वडा बासीका लागि त्रियुगा नमुना उच्च माध्यमिक विद्यालयमा पुष २२ गते देखि दर्ता कार्य शुरु गरिएको छ । १६ वर्ष उमेर पुरा भएको र नेपाली नागरिकताको प्रमाण–पत्र लिएको नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सक्नेछन् ।
नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको परिचय खुल्ने विद्युतीय प्रणालीबाट अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने र सो अभिलेखको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको परिचय–पत्र उपलब्ध गराउने उद्देश्य रहेको ११ नम्बर वडाकी सचिव प्रियङ्का पाण्डेले जानकारी दिनुभयो ।
सचिव पाण्डेले राष्ट्रिय परिचय–पत्र राष्ट्रिय पहिचानपत्रको लागि, सार्वजानिक सेवा प्राप्त गर्न, र सामाजिक सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखको रुपमा आवश्यक रहेको बताउनुभयो ।
परिचय–पत्रको लागि विवरण दर्ता गराउन सम्बन्धित वडाकोे नागरिकता, अन्य जिल्ला वा वडाको नागरिकताको हकमा सम्बन्धित वडाको बसाई–सराईको प्रमाण–पत्र अनिवार्य उपलब्ध गराउनु पर्ने छ ।
त्यसैगरी पति–पत्नीको हकमा विवाह दर्ताको प्रमाण–पत्र अनिवार्य भएको तर पतिको नागरिकतामा पत्नीको नाम उल्लेख भएमा विवाह दर्ताको प्रमाण–पत्र आवश्यक नहुने सचिव पाण्डेले बताउनुभयो ।
त्रिनपा १ नम्बर वडा कार्यलय जोगीदह, २ नम्बर वडा कार्यलय मोतिहाई, ३ नम्बर वडा कार्यालय मोतिगडा, ४ नम्बर वडा कार्यलय देउरी ९दमौटीमा पनि०, ५ नम्बर वडा कार्यल बगाहा, ६ नम्बर वडा कार्यलय जलजले ७ नम्बर वडा कार्यलय चुहाडे र ८ नम्बर वडा कार्यलय राजावासमा व्यक्तिगत विवरण दर्ता शुरु गरिएको छ ।
त्यसैगरी ९ नम्बर वडा कार्यलय स्वास्थ्य भवन गैरुन, १० नम्बर वडा कार्यलय बोक्से, १२ नम्बर वडा कार्यलय गाईघाट, १३ नम्बर वडा कार्यलय ढिक, १४ नम्बर वडा कार्यलय खाँवु, १५ नम्बर वडा कार्यालय साउने र १६ नम्बर वडा कार्यलय जाल्पा चिलाउने ९सिदालीमा पनि० लगायतका स्थानहरुमा दर्ता थालिएको छ ।
