Wednesday, April 29News That Matters

त्रियुगामा एक महिने पञ्चेवाजा तालिम सम्पन्न

सुनिल राई, गाईघाट ।
पूर्णपुष्टि, फागुन १ । उदयपुरको त्रियुगा नगरपालिकामा एक महिने त्रियुगा युवा महिला पञ्चेवाजा तालिम सम्पन्न भएको छ । झीगु नेवास्पुच त्रियुगाको आयोजना र नगरपालिकाको सहयोगमा पुष २७ गतेदेखि सुरु भएको एक महिने तालिम बिहिबार सम्पन्न गरिएको हो ।

तनहुँका अनुभवी प्रशिक्षक राम चन्द्र सेवाले सहभागी १५ जना महिलाहरूलाई सनाई, नरसिंहा, ढोलक, ट्याम्की र कर्नाल बजाउने विधि सिकाएका थिए । समापन समारोहमा सहभागीहरूले गाईघाट स्थित पिपल चोकदेखि संस्थाको भवनसम्म पञ्चेवाजा बजाउँदै प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले यस तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने र जातीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपप्रमुख महेश्वरी राईले यो आधारभूत तालिम भएको र आगामी वर्षदेखि उच्चस्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको बताइन् ।आयोजक संस्थाका अनुसार आर्थिक रूपमा विपन्न महिलाहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने र लोप हुँदै गएको पञ्चेवाजा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।