
पूर्णपुष्टि,असार १५ । उदयपुरको त्रियुगा नगरपालिकामा अव अनलाईबाटै कर भुक्तानी गर्नपाउँन व्यवस्था गरेको छ । नगरले सेवाग्राहीहरुको सुविधाका लागि छुट्टै करदाता पोर्टल खडा गरी सेवाग्राहीहरुलाई अनलाइनबाट कर तिर्न सकिने व्यवस्थ गरिएको हो ।
नगर प्रमुख बसन्त कुमार बस्नेतले पछिल्लो समयको माग अनुरुप नगरपालिकाले प्रविधिलाई पछ्याउदैँ सेवाग्राहीहरुको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने उद्देश्यमा नगरपालिका अघि बढिरहेको बताए । प्रविधिको बिकास संगै सुरु गरिएको व्यवस्थाबाट सबै नागरिकहरुलाई सुगम र सहज हुनेमा मेयर बस्नेतले बिश्वास ब्यक्त गरे । प्रविधिमैत्री सेवा प्रवाह र सुशासन सुनिश्चित गर्नको लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै मेयर बस्नेतले नगदरहित राजस्व संकलन गर्न मिल्ने गरी सेवा शुरुवात गरिएको उल्लेख गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिगदेलले सेवा प्रवाहमा सुचना प्रविधिको नवीनतम उपाय, उपकरण, विधि र माध्यमहरुको समुचित प्रयोग गरी छिटो छरितो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य अनुरुप सो प्रणालीको थालनी गरिएको बताए । प्रमुख सिगदेलका अनुसार करदाताहरुले अब नगरपालिकाको करदाता पोर्टल खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सकिने बताए ।
