Friday, June 19News That Matters

त्रिशूली नदी दुर्घटना : गणपति बसका चालक र सहचालकको शव फेला, ४५ यात्रु अझै बेपत्ता

पूर्णपुष्टि, साउन २ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन्।

प्रशासनका अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन्, जसमध्ये ९ वटा शवको मात्र सनाखत भएको छ। भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन्। सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय रहेका छन्।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन।

त्रिशुलीमा खसेका दुबै बसमा गरेर ६५ यात्रु थिए, जसमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए। अझै ४५ यात्रुको अवस्था अज्ञात रहेको छ।