Wednesday, April 22News That Matters

दक्षिण अफ्रिका टि–२० विश्वकपको फाईनलमा

पूर्णपुष्टि, असार १३ । जारी टि–२० विश्वकप क्रिकेट २०२४ मा दक्षिण अफ्रिका फाईनल पुगेको छ । बिहिबार बायन लारा क्रिकेट स्टेडियममा भएको पहिलो सेमिफाईनल खेलमा अफगानस्थानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । यसअघि एकदिवसीयमा ५ र टी–२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

अफगानस्थानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको हो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे भने एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदिन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

दक्षिण अफ्रिका जितमा मार्को यानसनले ३ विकेट, कागिसो रबाडाले २ विकेट, एनरिच नोर्कियाले २ विकेट र तबरेज शाम्सीले ३ विकेट लिए । दोस्रो सेमिफाईनल खेल इंग्ल्यान्ड र भारतबीच आजराती हुदँछ । फाईनल खेल शनिबार दक्षिण अफ्रिकाले दोस्रो सेमिफाईनलको विजेता टोलीसँग खेल्नेछ ।