
पूर्णपुष्टि, जेठ ३ ।
जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुसारको जनशक्ती नहुदा कोरोना महामारीको बेला काम गर्न असहज भएको छ । अस्पतालका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलका अनुसार मुख्य गरी १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैनन् । १० जना एमडी डाक्टरको दरबन्दी रहेपनि दरबन्दीमा कोही छैनन्, २ जना करारका डाक्टर राखिएका छन् । ४ जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकोमा १ जनामात्र स्थायी दरबन्दीका छन् भने अन्य ५ जना करारमा राखिएका छन् ।
त्यसभन्दा तलका पदहरुमा पनि दरबन्दीका जनशक्ती नभई काम चलाउन करारमा नियुक्ती गर्नु परेको छ । हाल कोरोना महामारीको अवस्थामा जनशक्तिको अति आवश्यक परेको मेसु मण्डलले बताउनुभयो ।
जनशक्तिहरु भएको खण्डमा नयाँ अप्रेशन थिएटर बनाउने, मेसिनहरु जोड्ने गर्न सकिन्थ्यो । तर त्यस्तो गर्न नसकिदा जनताको गुनासो आउने गरेको छ । ५० बेडको अस्पताल भनिए पनि जनशक्ति र मेसिनहरुको अभाव छ अस्पतालमा । कोरोनाको बेला अस्पतालमा दुईओटा भेन्टीलेटर र आइसियु रहेपनि भेन्टीलेटर चलाउनसक्ने दक्ष जनशक्ति नहुदा त्यतिकै थन्काउनु परकेो डाक्टर मण्डल बताउनुहुन्छ । भएका जनशक्तिहरुलाई अहिलेको अवस्थामा काम गर्न अति नै मुस्किल र चाँप परिरहेको उहाँले बताउनुभयो ।
