Sunday, June 28News That Matters

दशैँपछि मात्रै तातोपानी नाका खुल्ने

पूर्णपुष्टि, कात्तिक ५

तातोपानी नाका दशैँपछि मात्रै खुल्ने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दशैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । दशैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सारले जनाएको छ ।

तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो ।

अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको जनाईएको छ  ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनिया पक्षले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्नेगरी तयारी गरिएको छ । यसरी सामान ढुवानी गर्दा दिनमा ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आउनेछन् ।