
पूर्णपुष्टि, जेठ ५ गते ।
दाङको जनता सामुदायीक वनमा अतिक्रमण गरिएको करिब ४ हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय दाङले खाली गराई तारबार गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१ को सामुदायिक वनमा करिब ३÷४ वर्षदेखि अतिक्रमण भइरहेको करिब ४ हेक्टर वन क्षेत्र खाली गराई तारबार गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
डिभिजन वन कार्यालय दाङ र सबडिभिजन वन कार्यालय तुलसीपुरबाट गएको टोलीले अतिक्रमण भएको करिब ४ हेक्टर जग्गामा खाली गराई १ हजार रनिङ्ग मिटर काँडेतारले तारबार गरेको जनाएको छ ।
सामुदायिक वनका केहि उपभोक्ताहरुले खेतीपाती गर्ने उद्देश्यले वन क्षेत्र अतिक्रमण गरेको भन्ने सूचनाका आधारमा टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको हो । यस क्षेत्रमा खेतीपाती गर्न सुरु गरिएको थियो ।
वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभए पनि ३÷४ घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा परारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
तत्काल वनको जग्गा अतिक्रमण गर्नेहरुको पहिचान गरी सामूहिक वनको स्वीकृत कार्य योजना र विधान बमोजिम कारबाही गरी डिभिजन वन कार्यालयलाई जानकारी गराउन समूहका पदाधिकारीहरूलाई निर्देशन दिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
