
पूर्णपुष्टि, जेठ ५ गते ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सरकारले पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नक्सा पारित गरेको जनाईएको छ ।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पारेपछि नेपालमा चर्को विरोधसँगै संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।
नेपाल सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव ग¥यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।
पछिल्लो समयमा कोरोनाको कहरमा फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन ग¥यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।
तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भन्दै टार्दै आएको छ । त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।
जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको एक मन्त्रीले बताएका छन् ।
