Tuesday, July 14News That Matters

दाङमा एसइई दिन होस्टल बसेकी छात्रालाई शिक्षकले करणी गरेको आरोप

पूर्णपुष्टि,चैत्र २२ । जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ ।

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए ।

पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छिन् ।

यस विषयमा अखिल क्रान्तिकारी दाङ, अनेरास्ववियु दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ। अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।