
पूर्णपुष्टि, असार १८
दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ३ वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले विहिबार लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको हो ।
बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी बुधबार उद्घाटन गरेर दार्चुला पुग्नुभएका डिआइजी बुढाथोकीले ३ वटै बीओपीको उद्घाटन गरेको प्रहरीले जनाएको छ । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको जनाईएको छ ।
३ वटै बीओपीमा २०÷२० जना सुरक्षाकर्मी खटाइएका छन् । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने जनाईएको छ । गत मङ्गलबार नै दार्चुलाका ३ वटै स्थानमा बीओपी उद्घाटन गर्ने तयारी भएपनि महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजमा सडक अवरुद्ध भएर डिआइजी बुढाथोकी बैतडीमै रोकिनुभएको थियो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो । दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्यास गाउँपालिका—३ सुनसेरा र व्यास गाउँपालिका—१ चीन सीमा नजिकको तिङ्कर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ ।
जिल्ला सुरक्षा समितिले उक्त ४ वटै स्थानमा बीओपी थप्न सिफारिस गरिसके पनि गृह मन्त्रालयले निर्णय गर्न बाकी रहेको जनाईएको छ ।
