Friday, May 15News That Matters

दीदीको घरमा भाइको हत्या, ५ जना पक्राउ

पूर्णपुष्टि, जेठ ३१ गते ।
दीदीकै घरमा भाइको हत्या भएको छ । पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको छ ।
‘घटना किन घटाइयो ? कसको संलग्नता कति हो ? घटनाबारे थप अनुसन्धान भइरहेको खनाले बताए ।
जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो ।
राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरेका थिए ।
उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका पाँच जना सदस्य नै संलग्न भएको प्रहरीको अनुमान छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।