Wednesday, May 13News That Matters

दुर्घटनामा घाइते भएका राप्रपा नेता श्रेष्ठको उपचारको क्रममा मृत्यु

काठमाण्डौँ, जेष्ठ २२

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । नेता श्रेष्ठको उपचारका क्रममा आज काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पु¥याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि आज मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रवीन चाम्लिङले जानकारी दिनुभयो । अस्पतालले नेता श्रेष्ठलाई मृत घोषणा गरेपछि आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता श्रेष्ठलाई दिक्तेल बजारस्थित किरातचोकबाट पुरानो बेसक्याम्पतर्फ जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो । पछाडिबाट तीव्रगतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढल्नुभएका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा जिल्लामा उपचार नभएपछि थप उपचारका लागि चिन्ताजनक अवस्थामा काठमाडौँ लगिएको हो । (रासस)