
पूर्णपुष्टि, जेठ १७ ।
दैलेखको दुल्लु नगरपालिकाका एक युवकको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । भारतको गुजरातबाट १० दिनअघि नेपाल आएका दुल्लु नगरपालिका–११ खागीतडाका ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको थियो ।
जेठ नौ गते नेपाल–भारत सीमा रुपैडीहा आइपुगेका युवक भारतको गुजरातस्थित एक होटलमा कुकको काम गर्ने बुझिएको छ । उनीसँगै ३४ जना युवाहरु नेपाल आएका थिए ।
जेठ १० गते बस चढेर दैलेखको तल्लोडुंगेश्वर पुगेका उनलाइ दुल्लु नगरपालिकाले वडा नं. ७ मा रहेको क्वारेन्टिइनमा राखेको थियो ।
विहान चिया–खाजा खाएपछि उनी एक्कासी ढलेको दुल्लु नगरपालिकाकाले जनाएको छ । मृतक युवकको स्वाब बिहीबार संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गरिएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्नुभयो ।
यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भइसकेकाे छ ।
