
२३ माघ, २०८२ । उदयपुर
उदयपुरमा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा आगामी फागुन १ देखि ९ गतेसम्म थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका लागि मुख्य आर्थिक सहयोग फिफाको रहनेछ ।
नेपालमा महिला फुटबलको प्रगतिले अग्रगति लिएको र सम्भावना बढेर गएको, यसै कुरालाई मध्येनजर गर्दै फिफाले यस प्रतियोगितामा आर्थिक लगानी गरेको महासचिव राईले बताए ।
उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबीच हुने आयोजकले जनाएको छ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लब रहनेछन् ।
“पहिले महिला खेलाडी पाउन गाह्रो हुन्थ्यो, अहिले प्रशस्त उत्पादन भएका छन् ।” महासचिव राईले भने । प्रतियोगितामा सहभागि हुने १० टिममा एकदमै स्तरीय महिला खेलाडी रहेको र भर्खरै खेलाइएको क्वालिफाईन खेलबाट पनि धेरै महिला खेलाडी उत्पादन भएको उनले बताए ।
प्रतियोगितामा अन्तराष्ट्रिय स्तरमा आवद्धबाहेकका अरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका महिला खेलाडीहरु सहभागि बन्ने जनाइएको छ । यसले नेपाली महिला फुटबलमा थप प्रवद्र्धन र प्रात्साहन मिल्ने भएको छ ।
खेल अत्यान्तै रोचक हुने आयोजकको दावी छ । नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा केही शुल्कको ब्यवस्था रहनेछ । एन्फाले यस प्रतियोगितालाई नेपालको ए डिभिजन लिगको प्रि–सिजनको रुपमा पनि लिएको जनाएको छ ।
