
पूर्णपुष्टि, कात्तिक २२
देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको छ ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।
हिजो जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११, दिपायलको ९.८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९.५ डिग्री सेल्सियसमा झरेको थियो ।
आज पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको जनाईएको छ ।
