Sunday, April 19News That Matters

देशभर १० जनामा हैजा सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

पूर्णपुष्टि, साउन १२ । देशभर हैजाको सङ्क्रमण फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। यो मुख्यतया दूषित पानी र खानाबाट सर्छ। विशेषज्ञहरूका अनुसार हैजाका मुख्य लक्षणहरूमा पातलो दिसा, वाकवाकी, बान्ता र कडा जलवियोजन पर्दछन्। उपचार नपाएमा केही घण्टामै सङ्क्रमितको मृत्यु हुन सक्ने चेतावनी दिइएको छ।

सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले रोग नियन्त्रणका लागि सुरक्षित पानीको प्रयोग व्यक्तिगत सरसफाइमा ध्यान र खानेकुरा राम्रोसँग पकाएर खाने जस्ता उपायहरू सुझाएका छन्। विशेष गरी शौचालय प्रयोगपछि साबुन पानीले हात धुने, खाना खानु अघि हात धुने र फोहोर छोएपछि हात धुने बानी बसाल्न आग्रह गरेका छन् ।

जारको पानी प्रयोग गर्दा सावधानी अपनाउन पनि उनले सुझाव दिएका छन् । कतिपय व्यवसायीहरूले प्रशोधन नै नगरी पानी बजारमा ल्याउने गरेको पाइएकोले सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता डा पुनले बताए ।

डा पुनले शौचालयको उचित व्यवस्थापन गर्न पनि जोड दिएका छन्। कमजोर शौचालय व्यवस्थापनले हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्ने उनले बताए । सरकारी निकाय, स्थानीय समुदाय र व्यक्तिगत स्तरमा सचेतना र सावधानी अपनाएमा हैजा जस्ता सङ्क्रामक रोगहरूलाई नियन्त्रण गर्न सकिने उनले बताए ।