Tuesday, June 9News That Matters

देश/विदेशका लागि खुसीको खबर : दिक्तेलबजारको सबैभन्दा नजिकको विमानस्थलको उडान परिक्षण सफल

पूर्णपुष्टि, फागुन १५ ।

खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलको सफल उडान परिक्षण भएको छ । यो दिक्तेलबजारको सबैभन्दा नजिकमा पर्ने विमानस्थल हो । गतवर्षको जेठ १ गते पहिरोले क्षती पुर्याएपछि विमानस्थल अवरुद्ध बनेको थियो । पुनःमर्मत पछि यहि फागुन १३ गते गरिएको परिक्षण उडान सफल भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको सफल परिक्षणसंगै नियमित उडान भर्न सकिने भएको छ । अवका दिनमा नियमित उडान भर्नका लागि सम्बन्धीत निकायमा पहल थालिएको छ । खोटाङका प्रदेश सांसद रामकुमार राई “पासाङ” ले नियमित उडान भर्नका लागि पहल थालिएको बताउनुभयो ।

परिक्षण उडान विहान १०ः३० बजे खानीडाँडामा विमानस्थलमा अवतरण भएको थियो । परिक्षण उडानकै क्रममा सांसद राई र विमानस्थलको जग्गादातासमेत रहनुभएकी अर्का प्रदेश सांसद उषाकला राई पनि आउनुभएको थियो । साथै नेपाल बायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपराज ज्वारचन लगायतका टोली आइ निरिक्षण गरेका थिए ।

अपरेशन विभाग प्रमुख ज्वारचनले पहिलोचरणमा हप्तामा दुईपटक उडान भरिने बताउनुभयो । मंगलबार र शनिबार दुईदिन उडान भरिने उहाँले जनाउनुभयो ।

प्राधिकरणको ५ करोड ३९ लाख लागतमा विमानस्थलको पुनः निर्माण भएको विमानस्थल निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेका अनुसार पुनः निर्माणको काम कान्छाराम कन्स्ट्रक्शन प्रा.लि. काठमाडौंले गरेको थियो ।

मर्मतको अवधिसहितलाई हेर्दा अवरुद्ध भएको २० महिनापछि विमानस्थल सञ्चालनमा आएको छ । उक्त विमानस्थल निर्माणमा विभिन्न दातृ निकाय, देश विदेशका नेपालीहरुको चन्दा तथा आर्थिक सहयोग रहेको छ । विमानस्थलको निर्माण कार्य गुरणस्तरहिन हुदा पहिरोको समस्या झेल्नु परेको गुनासो पहिलेदेखिनै हुदै आएको थियो ।

दशवटा स्थानीय तह रहेको जिल्लामा योसहित तीनवटा विमानस्थल निर्माण छन् । लामीडाँडा र थामखर्कको विमानस्थल भने सञ्चालनमै रहेका छन् ।