
पूर्णपुष्टि, साउन ८
आर्थिकरुपले विपन्न रहेका उदयपुरका २० घर द्धन्द्धपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । सरकारले निषेधाज्ञाको समय थप गर्दै जाँदा विपन्न द्धन्द्धपीडित परिवारलाई दुई छाक टार्नसमेत मुक्सिल पर्न थालेपछि कोभिड १९ दु्रतप्रतिकार्य समुहको समन्वयमा नागरिक आवाज र ओरेक नेपालले राहत उपलब्ध गराएका हुन् ।
राहत सामग्री प्रभावित परिवारलाई पायक पर्ने गरी गाउँमै लगेर वितरण गरिएको नागरिक आवाजका जिल्ला प्रतिनिधि कल्पना ढकालले बताईन् । देशव्यापीरुपमा फैलिएको कोरोनाका कारण प्रभावित परिवारले काम गरेर खान सक्ने अवश्था नभएको र स्थानीय सरकारलेसमेत राहतको कुनै प्याकेज नल्याएकाले सानो सहयोग गरिएको उनको भनाई छ ।
उनीहरुलाई चामल, दाल, चना, मटर, नुन, तेल लगायतका खाद्यान्न तथा दैनिका उपभोग्य सामग्री उपलब्ध गराइएको ओरेकका कार्यक्रम संयोजक पम्फा पुरीले जानकारी दिईन् । वाहिर गएर काम गर्न सक्ने वातावरण नभएकाले तत्काल घरमै बस्ने वातावरण तयार गर्न सहयोग गरिएको उनको भनाई छ ।
स्थानीय तहले उपलब्ध गराएको विवरण अनुसार बेलका र चौदण्डिगढी नगरपालिकाका १३ र त्रियुगा नगरपालिकाका ८ गरी बीस परिवारलाई राहत सामग्री उपलब्ध गराएको कोभिड १९ द्रुतप्रतिकार्य समुहका सदस्य सागर नेपालले बताए । कार्यक्रममा आरआरटिका प्रदेश संयोजक महेश्वरी राई, जिल्ला संयोजक भरत खड्का, सदस्य तुलसीराम चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

