Wednesday, June 3News That Matters

द्रुतमार्गसँग मदन भण्डारी राजमार्ग जोडिने

पूर्णपुष्टि, कात्तिक २

हेटौँडा–काठमाण्डौ मदन भण्डारी मार्गलाई निजगढ–काठमाण्डौ द्रुतमार्गसँग जोड्नका लागि अध्ययन थालिएको छ ।
काठमाण्डौ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न वाग्मती प्रदेश सरकारले प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी सुरु गरेको छ ।
सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाण्डौ–निजगढ द्रुतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाण्डौको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गर्नुभएको थियो ।
द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै अवलोकन र अध्ययनका लागि आएको जनाईएको छ ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको छ । प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ भन्ने टुङ्गो लाग्ने समितिले जनाएको छ ।