
पूर्णपुष्टि, असोज २८
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा असोज २८ देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरले जनाएको छ ।
यस अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने नगरले जनाएको छ ।
धनकुटामा संक्रमितको संख्या ६३ जना पुगेको छ ।

