
पुणपुष्टि, असोज २८
सप्तरीमा भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच झडप भएको छ । राजविराज नगरपालिका–१३ मुसहर्नियाँमा गतराती करिब १० बजे प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएर घरेलु हतियारसहित आएकाहरुले प्रहरीमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको प्रहरीले जनाएको छ ।
करिब ७० जना स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसबीचमा तस्करहरु सामानसहित फरार भएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तस्करीको सामान आइरहेको पूर्वसूचना पाएर जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको टोली त्यस ठाउँमा खटिएको थियो ।

