Tuesday, April 21News That Matters

नदिजन्य पदार्थको उत्खनन नखुलाए आन्दोलन गर्ने चेतावनी

पूर्णपुष्टि, असोज १८ ।

त्रियुगा नगरपालिकाले असार २०८१ देखि नदिजन्य पदार्थको उत्खननमा लगाएको रोकका कारण स्थानीय विकास निर्माण र व्यवसायमा गम्भीर असर परेको भन्दै नेकपा ९एकीकृत समाजवादी० त्रियुगा नगर कमिटिले मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।

कमिटिका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठले शुक्रबार बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले आफैंले बनाएको ऐन विपरीत लगाएको रोकका कारण सडक, नाला, भवन, पुलपुलेसा लगायतका भौतिक पूर्वाधार निर्माण प्रभावित भएको उल्लेख गरिएको छ । साथै सर्वसाधारणले घर, टहरा र पर्खाल निर्माण तथा मर्मत गर्न नसकेको अवस्था रहेको पनि ज्ञापनपत्रमा जनाइएको छ ।
ज्ञापनपत्रमा उत्खनन रोकका कारण ढुंगा, गिट्टी र बालुवाको व्यवसाय गर्ने व्यवसायी, सिकर्मी, डकर्मी, मजदुर र ढुवानी व्यवसायीहरूको अवस्था दिनानुदिन दयनीय बन्दै गएको उल्लेख गरिएको छ । वातावरण संरक्षणको नाममा गरिएको यस्तो रोकले गरिब मजदुर र व्यवसायीको मुखको माड खोसेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताइएको छ ।

पार्टीले सापेक्षित संरक्षणको नीति अपनाउँदै यथाशीघ्र नदिजन्य पदार्थको उत्खनन र बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ । त्रियुगा नदी र यहाँका बासिन्दाको जीवनलाई अलग राखेर हेर्न नसकिने भन्दै नदीको संरक्षण र उपयोगको नीति अवलम्बन गर्दै रोक फुकुवा गर्न जोडदार माग गरिएको छ । ज्ञापनपत्रमा माग पूरा नभए सशक्त प्रतिरोधको आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । साथै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने पनि उल्लेख गरिएको छ ।