
पूर्णपुष्टि, बैशाख १
नयाँ बर्षको दिन पारेर त्रियुगा नगरले स्वच्छ सहर, हरित शहर अभियान लाई बिरुवा रोपेर सुरुवात गरेको छ । नगरले ‘स्वास्थ्य, शिक्षित, उद्यमशिल हाम्रो शहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ भन्ने मूल नाराका साथ सदरमुकाम गाईघाटलाई हरित शहरको रुपमा विकास गर्न बिरुवा रोपेर यस अभियानलाई बैशाख १ गते नयाँ वर्षबाट शुभारम्भ गरेको हो ।
गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत गाईघाटको मुख्य चोकबाट वृक्ष्यारोपण गरेर अभियान शुरु गरिएको हो । अभियानलाई त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी र उप–मेयर देवी कुमारी चौधरीले बिरुवा रोपेर सुभारम्भ गर्नुभयो ।
मेयर चौधरीले नयाँ बर्षको सम्पूर्ण त्रियुगा नगरबासीहरुमा शुभकामना ब्यक्त गर्दै नयाँ सालमा नयाँ कामको सुरुवात नगरले गरेको बताउनुभयो । सबैमा नयाँ कार्य, नयाँ सोँच र थप सफलताहरुका लागि ननगरले यस्तो काम थालनी गरेको बताउनुभयो ।
त्रियुगा नगरपालिका क्षेत्रका सबै स्थानमा सफा शहर निर्माणको लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताउनुभयो । अभियान अन्तर्गत गाईघाट बजार क्षेत्रमा हुने अव्यवस्थित सवारी पार्किङलाई सःशुल्क र निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि अनिवार्य दुई वटा विरुवा रोप्न नियमन गर्ने मेयर चौधरीको भनाई छ ।
