
पूर्णपुष्टि, बैशाख १
कोरोना क्षेत्रका विद्यालयहरु तत्काल बन्द नगरे स्थिति भयावह हुन सक्ने बिज्ञहरुले बताएका छन् ।
स्थिति बिग्रन नदिनलाई कोरोना फैलिएको क्षत्रका विद्यालयहरु तत्काल बन्द गरी कोरोनालाई सामान्य तर्फ लैजान बिज्ञहरुले सल्लाह दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ ।
बिज्ञहरु भन्छन् यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’
केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्ग व्यापक रूपमा प्रभावित हुन थालेको विज्ञहरूको भनाइ छ ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले समेत सरकार तुरुन्त ‘एक्सन’ मा गएर विद्यालयमा पठनपाठन रोक्नुपर्ने सुझाए । हाल बालबालिकाबाट संक्रमणको विस्तार भइरहेको दाबी गर्दै डा. बीसी भन्छन्, ‘विद्यालय सञ्चालकहरूले मात्र बन्द गर्न हुन्न भन्नु हुन्छ । जनस्वास्थ्यको दृष्टिले संक्रमणको चक्र तोड्न (चेन ब्रेक) विद्यालय बन्द गर्नु नै पर्छ । यो रोग अत्यधिक फैलिएपछि विद्यालय बन्द गर्नुको कुनै अर्थ रहँदैन ।’ समाजमा संक्रमण विस्तारमा धेरै सघाउने वर्ग पनि बालबालिका हुन् । अहिलेकै अवस्थामा कम्तीमा ३–४ साता विद्यालय बन्द गरी वैकल्पिक कक्षा सञ्चालन नगरिए सघन उपचारमा जाने र मृत्यु हुनेहरूको संख्या अप्रत्याशित बढ्न सक्ने उनले चेतावनीसमेत दिए ।
मंगलबार मुलुकभर ४ हजार ३८६ नमुनाको पीसीआर परीक्षण गर्दा ४६० जना संक्रमित थपिए । जसको संक्रमण दर १०.४८ प्रतिशत छ । ९७ जना आईसीयू र २० जना भेन्टिलेटरमा गरी ११७ जना संक्रमित सघन उपचारमा छन । पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ५ जनाको मृत्यु भएको छ । सोमबार यो संख्या १३ थियो । हालसम्म ३ हजार ५८ जनाको मृत्यु भएकामा ९ वर्षसम्मका २४ जना र १०–१९ वर्ष उमेर समूहका २२ जना छन ।
