Thursday, May 7News That Matters

नयाँ वर्षमा पर्यटकिय स्थल सुनसान

उदयपुर, बैषख २ गते ।

ईतिहासमा पहिलो पटक नयाँ वर्षमा उदयपुरका धार्मिक तथा पर्यटकिय स्थलहरु सुनसान भएको छ । कोरोना भाईरस (कोभिड–१९) को कारण जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थल रौता पोखरी, ताप्ली पोखरी लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु सुनसान भएको हो ।

जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरुमा परापूर्व कालदेखि नै प्रत्येक वर्षको बैशाख १ गते लाग्दै आएको मेला यस वर्ष कोरोना भईरस संक्रमणका कारण लागेको छैन ।

रौतामाई गाउँपालिका–६ मा अवस्थित रौता पोखरीमा तीन दिनसम्म लाग्ने नयाँ वर्षको मेलामा करिब १० हजार भक्तजनहरु सहभागी हुने गर्दथ्यो । कोरोना संक्रमणको कारण पहिला नै गाउँपालिकाले सुचना जारी गर्दै मेला स्थगित गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । मेलामा कोरोनाको संक्रमण बढ्ने भएकाले सजगता अपनाउदै मेला स्थगित गरेको उनले बताए ।

प्रत्येक नयाँ वर्षको मेलामा रौताको दर्शन गर्न र मेला भर्न आउनेको भिड लाग्ने गर्दथ्यो । तर कोरोनाको कारण यसपालिको नयाँ वर्षमा रौता सुनसान भएको स्थानीयहरुले बताएका छन् । रौता पोखरीको छुट्टै पहिचान रहेको छ ।, नयाँ वर्षको दिन बढी रौताको दर्शन गर्न छिमेकी जिल्लाहरु र छिमेकी देश भारतका केहि भुभागबाट समेत भक्तजनहरु आउने गर्दथ्यो ।

उत्तरमा अवस्थित सवोच्च शिखर सगरमाथा, कञ्चनजंघा, चोयु, ल्होत्से, कुम्भकर्ण, मकालु लगायतका ८ हजार भन्दा अग्ला हिमशृङ्खला र दक्षिणको समथर फाँटदेखि भारतका विभिन्न भुभाग खाली आँखाले प्रत्यक्ष अवलोन गर्न सकिने रौता सुनसान भएको स्थानीय योगराज राईले बताए ।

ताप्लि गाउँपालिका–२ मा अवस्थित ताप्लि पोखरीमा लाग्ने नयाँ वर्षको एक दिने मेलामा करिब ६ हजार भक्तजन सहभागी हुने गर्दथ्यो । तर कोरोना भाईरसको संक्रमणका कारण यस अघिनै पालिकाले सुचना जारी गर्दै  मेला स्थगित गरेको ताप्लि गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

रौता र ताप्लि पोखरीको दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

त्यस्तै ऐतिहासिक स्थल चौदण्डिगढी, उदयपुरगढी, मैनाराजा मैनारानी मन्दिर लगायतका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरु नयाँ वर्षमा सुनसान भएको छ । प्रत्येक वर्षको बैशाख १ गते मेला लाग्ने पर्यटकिय स्थलहरुमा कोरोनाको कारण यस वर्ष मेला लाग्न नसकेको पालिकाहरुले जनाएको छ ।

“भ्रमण वर्ष २०२०”लाई सफल बनाउन थप टेवा पु¥याउने लक्ष्यका साथ नयाँ वर्षमा पर्यटकिय स्थलहरुमा मेला महोत्सवको योजना बनाएको भएपनि कोरोना संक्रमणको कारण स्थगित गरिएको पालिकाहरुले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोनाको संक्रमण नेपालमा पनि देखा परेपछि सरकारले देश लकडाउन गरेको छ ।