Friday, May 22News That Matters

नयाँ सहरको डीपीआर अन्तिम चरणमा

पूर्णपुष्टि, जेठ २६ गते ।

काठमाडौँ उपत्यकाको नयाँ सहरको विस्तृत परियोजना प्रदतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । काठमाण्डाँैको प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको हो ।

उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।

प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

ललितपुर महा नगरपालिकाका नगर प्रमुख बैठकमा अनुपस्थित रहनुभएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको जनाईएको छ ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इसान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भन्नुभयो, त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म

(पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ । ‘काठमाडौँ इसान’ को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसियट्स (जेभी)ले गरेको हो ।

त्यसैगरी, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’ को डीपीआर नेपाली कम्पनी ईएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’ को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरिरहेको छ ।

डीपीआर अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इसान’ को कुल निर्माण लागत चार खर्ब रुपियाँ हुनेछ भने अन्य तीनवटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ । त्यसैगरी, काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुने छ ।

सबैभन्दा ठूलो स्मार्ट सिटीका रूपमा प्रस्तावित ‘काठमाडौँ इसान’ को क्षेत्रफल एक लाख रोपनी छ । बाँकी तीनवटाको क्षेत्रफल दस/दस हजार रोपनीको हुने छ । काठमाडौँ इसानको एक लाख रोपनीमध्ये करिब ५४ हजार रोपनीमा मात्र ‘ल्यान्ड पुलिङ’ मार्फत जग्गा अधिग्रहण गरी सहरको ‘प्लानिङ’ गरिने छ । अन्य भागमा वनजङ्गल रहेका छन्, विश्व सम्पदासूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र पुराना बस्ती बोडे र ठिमी यसै स्मार्ट सिटीअन्तर्गत पर्ने छन् ।

प्रस्तावित स्मार्ट सिटीको कुल क्षेत्रफलको २० प्रतिशतमा सडक पूर्वाधार, १० प्रतिशतमा अन्य पूर्वाधार निर्माण तथा सिटीको कुल क्षेत्रफलको ५ प्रतिशत खुला ठाउँ रहने प्राधिकरणले जनाएको छ ।