
पूर्णपुष्टि,माघ २७
१७ बर्षीया एक किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरिएको कारण बाटोमा बेहोस अवस्थामा भेटिएकी किशोरीको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । किशोरीलाई शुक्रबार बेलुकी अस्पताल भर्ना गरिएको हो ।
बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ ।
घटना गत बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई न्याय दिने हिसाबले काम नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।
चौधरीले दुई साताअघि चिनजान भएकी ती किशोरीलाई सल्लाह गर्नुछ भन्दै ललाइफकाई आफ्नै घरमा बोलाएर रातभर राखी बलात्कार गरेको खुलेको प्रहरी स्रोतले बताएको छ । चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बस्छन् । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार भोलिपल्ट शुक्रबार बिहान केही होसमा आएपछि किशोरीलाई चौधरीले घर पठाएका थिए । तर युवती चौधरीकै घर नजिकको बाटोमा बेहोस अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि अस्पताल लगेपछि बलात्कारको घटना बाहिरिएको हो ।
सुरुमा घटनामा संलग्नलाई पक्राउ गर्न नै चासो नदिएको पीडित पक्षका आफन्तको भनाइ छ । प्रहरी अधिकारीले पनि यस घटनालाई लुकाउने प्रयास गरेका छन् । अहिलेसम्म प्रहरीले यो घटना सार्वजनिक गरेको छैन ।
बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका छन् । प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेर आइतबार उनलाई पनि स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल ल्याएको थियो । जाहेरी दिँदा पनि प्रहरीले बलात्कारमा संलग्नलाई संरक्षण गर्दै पक्राउ गर्न आलटाल गरेको र अहिले पक्राउ गरेपछि पनि घटनालाई अन्यत्रै मोड्ने प्रयास गरेको गुनासो आफन्तको छ । प्रहरीले सुरुमै जाहेरी लिन अस्वीकार गरेको एक आफन्तले बताए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक अनिल पौडेलका भनाइले पनि प्रहरीले घटनालाई सामान्य रूपमा लिएको पुष्टि हुन्छ । उनले घटनाको प्रकृति र पीडकको विवरणसमेत खुलाउन मानेनन् । ‘यस्ता घटना धेरै भएका छन् । यो सामान्य घटना हो,’ उनले भने, ‘अहिलेसम्म पीडितले केही नभनेका कारण बलात्कार हो भनेर भन्न सक्ने अवस्था छैन ।
प्रहरीले दुवै जनाको सहमतिमा यौन सम्पर्क भएकाले घटनालाई बलात्कार भन्न नमिल्ने बताएर अन्यत्र मोड्ने प्रयास गरिरहेको गुनासो आफन्तको छ । कानुनले नै उमेर नपुगी सहमतिमै भएको यौन सम्पर्कलाई बलात्कार मानेको छ । प्रहरीले घटनालाई लिएर पीडित पक्षलाई मिल्न दबाबसमेत दिने गरेको स्थानीयले बताएको छ ।
उपचारमा संलग्न चिकित्सकले पनि बलात्कार भएको भनिरहँदा पनि प्रहरीले घटनालाई सामान्य रूपमा लिएर पीडकको संरक्षणमा लागेको आरोप छ ।
