
पूर्णपुष्टि,माघ २७
निर्वाचन आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन सुझाव दिनुभएको छ । प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम अगाडी बढाएको जानकारी गराउनुभएको छ ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ ।
नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।
