
पूर्णपुष्टि,माघ २७
ताप्लेजुङ जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना भएको कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी बस्न बाध्य भएका छन् ।
जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । ९ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी ८ जना डाका मुद्दा, ३ जना चोरी मुद्दा, ५जना लागुऔषध मुद्दा, ४ जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताउनुभयो ।
त्यसैगरी २ जना सवारी ज्यान मुद्दा, ३ जना जबर्जस्ती करणी र अपरहण मुद्दा, ५ जना हातहतियार खरखजना र आगजनी मुद्दा, १ जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, ६ जना बहुविवाह मुद्दा, १ जना आगजानी अपरहण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, १ जना अवैध वन पैदवार मुद्दा, ७ जना हाडनाता कारणी मुद्दा, २ जना ठगी र अभद्र व्यवहार, ८ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् । २ जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताउनुभयो ।
जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको जेलर खवासले बताउनुभयो ।
एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताए । दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताउनुभयो । कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनुभयो । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको जेलर खवासको भनाई छ ।
ताप्लेजुङ कारगारमा ९ जनाको दरबन्दी रहेकामा अहिले जेलर १, करारमा १ कम्युटर ओपरेटर र ४ कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका १ अहेव, १ लेखा र १ खरदारको दरबन्दी छ ।
जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताउनुभयो । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीको भनाई छ ।
