Wednesday, April 22News That Matters

नारायणी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगायो, सयौं नागरिक विस्थापित

पूर्णपुष्टि, असार २३ । नारायणी नदीमा आएको बाढीले चितवन जिल्लामा व्यापक क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ। पुलका दुवैतर्फका पिल्लरहरु भत्किएपछि पूरै संरचना नै बगेको छ।

बाढीको जोखिम बढेसँगै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेको छ। भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुबाट करिब १७० जनालाई विस्थापित गरिएको छ। यी विस्थापितहरुलाई विभिन्न सुरक्षित स्थान, आफन्तको घर र सामुदायिक भवनहरुमा सारिएको छ।

प्रशासनले डुङ्गाको प्रयोग गरेर घरका सामानहरु पनि सुरक्षित स्थानमा सार्ने काम गरिरहेको जनाएको छ। नगरवनमा रहेको बीपी कोइरालाको शालिक र आन्तरिक पर्यटकीय क्षेत्र पनि जोखिममा परेको छ।स्थानीय प्रशासन र सुरक्षा निकायहरु थप क्षति रोक्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न सक्रिय रहेका छन्। नारायणी नदीको जलस्तर अझै बढ्दो क्रममा रहेकोले थप सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।