
पूर्णपुष्टि, कात्तिक २२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समय तोकेको छ । हिजो बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो ।
नयाँ समयसीमा अनुसार अहिलेसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित पालिकामा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।
सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित पालिकामा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । कार्यावधि नै सकिन लागेकाले यो नै अन्तिम समयसीमा हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए पालिकामा निवेदन दिन आग्रह गरेको छ । साविक घर भत्काएर नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।
