Tuesday, April 21News That Matters

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दियो आधिकारीकता

पूर्णपुष्टि, साउन ११

दुई समूहमा बिभाजित भएको जनता समाजवादी पार्टी (जसपा) आधिकारीकता बारे निर्वाचन आयोगले  निर्णय सकाएको छ । उपेन्द्र समूहलाई आधिकारी पार्टीको जिम्मेवारी दिँदै आयोगले निर्णय सकाएको हो ।

आयोगले बहुमद सदस्यको आधारमा यादव समूहलाई आधिकारीकता पार्टीको घोषणा गरेको हो । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगमा दुवै पक्षले आधिकारिकता दाबी गरेका थिए । उपेन्द्र यादवले नेतृत्व गरेको समूहले आधिकारिकता पाएको छ,’उनले भने,’अब उनीहरूले गरेको निर्णय आधिकारिक हुन्छ । चार जनालाई कारबाही गरेको पहिला मानिएको थिएन । अब कसरी कारबाही गर्ने भनेर आदेशमा विस्तृत भनिएको छ ।’

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन् ।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

जसपा निकट कानुन व्यवसायी दिपक राईले सोमबारको फैसलाले अब महन्थ ठाकुर अध्यक्ष नरहेको स्पष्ट पारेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो ।